स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित


कैलालीको बर्दगोरिया गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा लागु गर्ने भएको छ । माध्यमिक तह कक्षा–१२ सम्म निःशुल्क अध्ययन सम्बन्धी कार्यविधि २०८३ गाउँकार्यपालिकाले वैशाख ८ गते स्वीकृत गरेको छ । जेठ १३ गते प्रमाणीकरण भएको कार्यविधिलाई जेठ २६ गते स्थानीय राजपत्रमा प्रकाशित भएको छ

आर्थिक अभावका कारण माध्यमिक तह कक्षा– १२ सम्म को शिक्षाबाट कुनै पनि विद्यार्थी वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले गाउँ सरकारले यस्तो नीति अघि सारेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।

“शिक्षामा सबैको पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरी समग्र शिक्षा क्षेत्रमा सुधार गर्न हामी गम्भीर भएर लागेका छौ । माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गर्ने राष्ट्रिय अवधारणा र जनताको मौलिक हकको कार्यान्वयनमा सहयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।” गाउँपालिकाले कक्षा–१० सम्मको निःशुल्क शिक्षा यस अघि नै कार्यान्वयनमा ल्याएको छ ।


माध्यमिक तह कक्षा–१२ सम्म निःशुल्क अध्ययन सम्बन्धी कार्यविधि २०८३ कार्यान्वयनको अवस्था तथा अनुगमनका लागि अनुगमन समिति बन्ने छ । कार्यविधि अनुसार गाउँपालिका अध्यक्ष अनुगमन समितिको संयोजक रहने छन् भने पालिकाका उपाध्यक्ष, संयोजकले तोकेको एक जना महिला कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत समितिका सदस्य रहने छन् । यस्तै पालिकाका शिक्षा शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । हाल बर्दगोरियामा माध्यमिक तह कक्षा–१२ सम्म ६ वटा संस्थागत विद्यालयको सञ्चालनमा रहेका छन् ।