धनगढी । लिटिल बुद्ध एकेडेमीका विद्यार्थीहरूले राष्ट्रिय तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको गौरव बढाएका छन्।

१६ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताअन्तर्गत कराँते विधामा छात्रा निशा चौधरी ले स्वर्ण पदक जित्न सफल भएकी छन्। त्यसैगरी सोही प्रतिष्ठित प्रतियोगिताको प्रदेशस्तरीय चरणमा नागेश थलाल ले एकल काता विधामा दोस्रो स्थान हासिल गरेका छन्।

उक्त उल्लेखनीय उपलब्धिपछि विद्यालयले दुवै विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालय परिवारले उनीहरूको कडा परिश्रम, अनुशासन, समर्पण र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।

विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले यस्ता उपलब्धिले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताउँदै खेलकुद क्षेत्रमा विद्यार्थीहरूको प्रतिभा विकासका लागि विद्यालय सधैं प्रतिबद्ध रहने जनाएका छन्।

विद्यार्थीहरूको यस सफलताले लिटिल बुद्ध एकेडेमीको शैक्षिक तथा खेलकुद क्षेत्रको उत्कृष्टतालाई थप उजागर गरेको छ।





