स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

विश्व वातावरण दिवसको अवसरमा दुन एकेडेमीद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न


कैलाली । विश्व वातावरण दिवसको अवसर पारेर दुन एकेडेमी ले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। वातावरण संरक्षण र हरित भविष्य निर्माण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।


कार्यक्रमअन्तर्गत विद्यालय परिसर तथा आसपासका क्षेत्रमा फलफूल तथा विभिन्न प्रजातिका छायाँ दिने बिरुवाहरू रोपिएका थिए। सहभागीहरूले वृक्षरोपण मात्र नभई रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय प्रशासनले वातावरण संरक्षण आजको सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै प्रत्येक व्यक्तिले कम्तीमा एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बानी बसाल्नुपर्नेमा जोड दिएको थियो। "रूख रोपौं, हरियाली बढाऔं, स्वच्छ वातावरण बनाऔं" भन्ने सन्देशका साथ आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने विश्वास विद्यालयले लिएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि वृक्षले मानव जीवनमा पुर्‍याउने योगदानबारे जानकारी लिँदै वातावरणीय सन्तुलन कायम राख्न सबैले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। विद्यालयले यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


विश्व वातावरण दिवसको अवसरमा सम्पन्न यस वृक्षरोपण कार्यक्रमले हरित समाज निर्माण तथा वातावरण संरक्षण अभियानमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ रहेको छ।