स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

त्रियुगा क्षेत्रमा गर्मी, जनजीवन प्रभावित

गाईघाट। मनसुनमा आएको परिवर्तनसँगै त्रियुगालगायत जिल्लाका विभिन्न भागमा केही दिनयता अत्यधिक गर्मी बढेका कारण जनजीवन प्रभावित बन्न थालेको छ ।

अत्यधिक गर्मी बढ्न थालेपछि दिउँसो विभिन्न काममा हिँडडुल गर्न तथा गाईबस्तु चराउन जान समस्या हुन थालेको छ । 

अत्यधिक गर्मीका कारण तातो हावा चल्दा कतिपय विद्यालयका विद्यार्थी कक्षाकोठामै अध्ययनकै क्रममा बेहोस भएर ढल्ने घटना देखा पर्न थालेको विद्यालयका शिक्षकले बताएका छन् ।

त्रियुगा नगरपालिका–१ जोगीदह बरगाछीका स्थानीय देवीप्रसाद ढुङ्गानाका अनुसार एक हप्तायता अत्यधिक गर्मी बढ्न थालेपछि दिनमा गाईबस्तु चराउन जङ्गल–पाखातिर जान कठिनाइ भएको बताउँछन् ।

ढुङ्गाना भन्छन्, ‘एक हप्ता अगाडिसम्म दिउँसो ११ बजे गाईबस्तु जङ्गलमा लगेर चराउने गरेका थियौँ, तर अहिले अत्यधिक गर्मी बढ्न थालेपछि बिहानै गाईबस्तु जङ्गल लैजाने गरेका छौँ।’

दिनमा घाँस दाउरा र मेलापात पनि गर्मीका कारण जान नसक्ने भएपछि  घर वरिपरि शीतलमा बसेर दिन बिताउन बाध्य हुन परेको जोगीदह कङग खोलाका उमानाथ खनाल बताउँछन् ।

त्रियुगा नगरपालिका–११ गाईघाट शान्ति नगरटोलका ७० वर्षीय वृद्ध होमबहादुर कार्की भन्छन्, ‘केही दिनयता अत्यधिक गर्मी बढेपछि घुमघाम गर्न नसक्दा साथीसँग भेटघाट नै बन्द जस्तै भएको छ ।’

त्रियुगा नगरपालिका–३ भुल्के सत्यदवी माविका शिक्षिका देविका दाहालका अनुसार, अत्यधिक गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बेहोस भएर ढल्ने गरेका छन् । मौसम विद्धहरूका अनुसार एक हप्तादेखि त्रियुगा क्षेत्रको तापक्रम ४०ं डिग्री सेल्सिएससम्म पुग्न थालेको छ । 

अत्यधिक गर्मीका कारण दिनमा समेत गाईघाट बजार क्षेत्र सुनसानजस्तै हुने गरेको स्थानीय व्यवसायी रमेशलाल साह बताउँछन् ।