स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

आज १९औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

देशभर आज विभिन्न कार्यक्रम गरी १९औँ गणतन्त्र दिवस मनाइँदैछ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ।

जनआन्दोलन २०६२/६३ को बलमा स्थापित गणतन्त्रले राज्यसत्ताको सम्पूर्ण अधिकार जनतामा निहित हुने व्यवस्था प्रारम्भ गरेको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०६३ वैशाख ११ गते विघटित संसद् पुनःस्थापना गरेपछि गणतन्त्र स्थापनाको बाटो खुलेको थियो।

गणतन्त्र दिवस मूल समारोह समितिले आज काठमाडौंस्थित टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। कार्यक्रममा राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।

दिवसका अवसरमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिनुका साथै आन्दोलनमा योगदान पुर्‍याउने अग्रजहरूको स्मरण गरिँदैछ। गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरिरहँदा यस वर्ष पहिलो पटक गणतन्त्र दिवसको मूल समारोहलाई प्रधानमन्त्रीले नभई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।