गणतन्त्र दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरमा सांस्कृतिक तथा वडा स्तरीय नाइट पेनाल्टी शुटआउट प्रतियोगिता सम्पन्न भएको छ ।
कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क को आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ १४ वटा र महिलातर्फ ३ वटा टिमको सहभागिता रहेको थियो ।
महिलातर्फ पृथ्वीपुर ए, बि र सि टिम सहभागी रहेका थिए । प्रतिस्पर्धामा दुई टिमलाई पछि पार्दै पृथ्वीपुर "ए" टिम विजेता बन्न सफल भएको हो । विजेता टिमले नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
त्यसैगरी पुरुषतर्फ वडाका विभिन्न टोलबाट सहभागी १३ टिमलाई पछि पार्दै जोकाही "सी" टिम विजेता बनेको छ । विजेता टिमले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ भने विशालनगर टिम उपविजेता बनेको छ । उपविजेता टिमले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।
ढक बहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामकृष्ण डगौरा थारु प्रमुख अतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधनमा वडा अध्यक्ष डगौरा थारुले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै वडाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार पेनाल्टी शुटआउट तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए । उनले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै युवाहरूलाई कुलतबाट जोगाउन आगामी दिनमा यस्ता कार्यक्रम अझ आवश्यक रहेको धारणा राखे ।





