बौनिया/सागर चौधरी ।बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चौरासियामा रहेको श्री छतिवना सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले जाली घेरबार कार्य सुरु गरेको छ।

उक्त घेरबार निर्माण कार्यको शिलान्यास उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका पुर्वमन्त्री रामेश्वर चौधरीले गरेका छन्। वन क्षेत्रमा अनधिकृत प्रवेश, पशु चौपायाको क्षति तथा वन विनाश नियन्त्रण गर्न घेरबार निर्माण कार्य अघि बढाइएको समितिले जनाएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका पुर्वमन्त्री चौधरीले वन संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले वातावरण संरक्षणमा ठूलो योगदान पुग्ने बताएका छन्।

समितिका अध्यक्षका अनुसार वनको दीगो संरक्षण, हरियाली प्रवर्द्धन तथा जैविक विविधताको संरक्षणका लागि यो अभियान महत्वपूर्ण रहेको छ। स्थानीय उपभोक्ताहरूको सक्रिय सहभागिता र श्रमदानमार्फत सञ्चालन भइरहेको यस कार्यक्रमले वन क्षेत्र सुरक्षित बनाउन ठोस योगदान पुग्ने विश्वास गरिएको छ।
समितिले आगामी दिनमा वन संरक्षणसँग सम्बन्धित थप कार्यक्रमहरू समेत सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।




