स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

आजदेखि एसईई सुरु, ५ लाखबढी विद्यार्थी सहभागी हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (चैत १९)देखि देशभर सुरु हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले हरेक वर्षझैँ यस वर्ष पनि एकै समयमा परीक्षा सञ्चालन गर्न लागेको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार, देशभरका तोकिएका परीक्षा केन्द्रहरूमा बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ। चैत २९ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन्।

सहभागीमध्ये छात्राको संख्या बढी छ। तथ्यांकअनुसार २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षार्थी सहभागी हुँदैछन्। जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले पनि परीक्षा दिनेछन्।

यस वर्ष देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी हुनेछन्। परीक्षाको व्यवस्थापनका लागि प्रश्नपत्र सम्बन्धित केन्द्रमा पठाइसकिएको छ भने सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिएको छ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ।