स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बाैनियाँमा पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै

बौनिया। अध्यात्म र समाजसेवाको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था सन्त निरंकारी मण्डल नेपालले नेपालमा पहिलो पटक प्रादेशिक नारी सन्त समागम को आयोजना गर्ने भएको छ।

आगामी चैत १३ गते सुदूरपश्चिम प्रदेशको बौनियाँ कैलाली बाट सुरु भई , कर्णाली, मधेश र कोशी प्रदेशमा फरक फरक मितिमा ऐतिहासिक प्रादेशिक नारी सन्त समागम कार्यक्रम आयोजना हुन लागेको आयोजकले आज बौनियाँमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । यस कार्यक्रम मार्फत मिशनको विचारधारालाई जनस्तरसम्म पुर्‍याउन र नारी शक्तिको माध्यमबाट समाजमा शान्ति र एकताको सन्देश फैलाउन यो समागम कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

​के हो सन्त निरंकारी मिशनको मूल दर्शन : ​सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक व्यापक आध्यात्मिक विचारधारा हो। यसले संसारका सबै धर्म र आस्थाका मानिसहरूलाई सम्मान गर्दै साकार सद्गुरुको माध्यमबाट परमात्माको जानकारी ब्रह्मज्ञान प्राप्त गर्नु नै मानव जीवनको अन्तिम लक्ष्य रहेको विश्वास राख्दछ। ईश्वर प्राप्तिद्वारा नै विश्वभाइचारा सम्भव छ भन्ने मान्यता राख्ने यो संस्थाले सम्पूर्ण मानव जातिलाई एउटै परिवारको रूपमा व्याख्या गर्दछ। ​ आगामी ​चैत १३ र १४ गते प्रादेशिक नारी सन्त समागम विशेष आकर्षण सहित ​नेपालका चार प्रमुख प्रदेशहरूमा आयोजना हुन लागेको छ । प्रादेशिक नारी सन्त समागममा आध्यात्मिक प्रवचन, भजन कीर्तन र नारी सशक्तिकरणका विविध विषयमा चर्चा हुनेछ।

सन्त निरंकारी मण्डल नेपालका अनुसार, यो समागमले सुदूरपश्चिम, कर्णाली, मधेश र कोशी प्रदेशका हजारौं श्रद्धालु एवं जिज्ञासुहरूलाई आध्यात्मिक शान्ति र प्रेरणा प्रदान गर्नेछ। यस कार्यक्रमले समाजमा विद्यमान जाति, धर्म र नस्लका संकुचित घेराहरूलाई तोड्दै एउटै ईश्वरका सन्तानका रूपमा मानवतालाई जोड्ने लक्ष्य लिएको छ।