धनगढी।धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा सेती प्रादेशिक अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. प्रदिप मिश्र लाई सम्मान गरिएको छ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै विशेषगरी बाल स्वास्थ्य सेवामा योगदान पुर्याउँदै आएका मिश्रलाई विद्यालयले कदरस्वरूप सम्मानपत्र प्रदान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका की उप–प्रमुख कन्दकला कुमारी राना ले सम्मानपत्रसहित दोसल्ला ओढाएर उनलाई सम्मान गरिन्।

उप–प्रमुख रानाले आफ्नो मन्तव्यमा शिक्षा र स्वास्थ्य क्षेत्र एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै बालबालिकाको समग्र विकासका लागि विद्यालय र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले डा. मिश्रले बाल स्वास्थ्य सुधारमा पुर्याएको योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गरिन्।

विद्यालयका सञ्चालक मोहन ओझाले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि निष्ठापूर्वक सेवा दिँदै आएका व्यक्तित्वलाई सम्मान गर्न पाउँदा विद्यालय गौरवान्वित भएको बताए। उनले विद्यालय स्थापना भएको छोटो अवधिमै अभिभावकको विश्वास जित्दै गुणस्तरीय प्रारम्भिक शिक्षामा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे।
वि.सं. २०७६ सालमा स्थापना भएको सुभारम्भ मन्टेस्वरीले पछिल्लो छ वर्षमा शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा बालमैत्री वातावरण निर्माणमा उल्लेखनीय प्रगति गरेको विद्यालय प्रशासनले जनाएको छ। वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य तथा कविता वाचनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ।




