बाँस, मूञ्ज, घाँस, सनपाटदेखि माटोसमेत प्रयोग गरेर थारू समुदायले उत्पादन गर्दै आएका हस्तकलाका सामग्री पुस्तौँदेखि घरेलु जीवनसँग गासिएका छन्
कञ्चनपुर । बाँस, मूञ्ज, घाँस, सनपाटदेखि माटोसमेत प्रयोग गरेर थारू समुदायले उत्पादन गर्दै आएका हस्तकलाका सामग्री पुस्तौँदेखि घरेलु जीवनसँग गासिएका छन्। डेल्वा, ढक्या, छिटुवा, सुप्पा, गाग्री, करुवा, गुन्द्री, मौनीजस्ता सामग्री अझै प्रयोगमा रहे पनि ती व्यावसायिक रूपमा स्थापित हुन नसक्दा समुदायको सीप घरभित्रै सीमित बनेको छ।

समुदायका अगुवा नरेन्द्रप्रसाद चौधरीका अनुसार व्यावसायिक ज्ञान, लगानी र बजार पहुँच नहुँदा मौलिक हस्तकला सम्भावना मात्र बनेको छ। “उत्पादनलाई बजारसँग जोड्न सक्ने हो भने हजारौँ परिवारलाई रोजगारी दिन सकिन्छ,” उनले भने।
स्थानीय तहले पनि मौलिक सीपलाई आधुनिक डिजाइन र बजारमैत्री बनाउने खाँचो औंल्याएको छ। शुक्लाफाँटा नगरपालिकाका उद्योग शाखा प्रमुख धनबहादुर चौधरी भन्छन्, “थारू महिलाले बनाउने परम्परागत चोल्या र लेहङ्गामा आधुनिकता थप्न सके बजार आफैं तयार हुन्छ।”
चलचित्र, साङ्गीतिक कार्यक्रम र सांस्कृतिक प्रस्तुतीमा मौलिक पोशाक तथा सजावटी सामग्रीको माग बढ्दै गएको छ। समयानुकूल परिमार्जन र प्रवर्द्धन गर्न सके थारू हस्तकलाले राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय बजारमा समेत पहिचान बनाउन सक्ने सम्भावना देखिन्छ।




