काठमाण्डौ । हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन्। कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन मानिसहरूले बेसार सेवन गर्थे ।

तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्छ । आफ्नो शरीरको तौलअनुसार कति बेसार खानु हुन्छ भन्ने विषय थाहा पाउनु आवश्यक छ । नेपाली भान्साको अपरिहार्य उक्त मसालाको गुणस्तरबारे पनि सर्वसाधारणहरू सजग रहनुपर्छ ।
आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिमा दैनिक रूपमा खानामा बेसार प्रयोग गर्न सुझाइएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा पछिल्लो समय बेसारको आयात ह्वात्तै बढेको देखिन्छ जसको सीधा साइनो खपतसँग जोडिएको छ ।

अत्यधिक सेवन गरे के हुन्छ ?
विज्ञहरू भने पर्याप्त ज्ञानबिनै बेसार प्रयोगले विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने बताउँछन् । हजारौँ वर्षदेखि नेपालका अधिकांश स्थानसहित दक्षिण एशियाका विभिन्न क्षेत्रमा बेसार सेवन गरिँदै आएको भए पनि यसको मनपरी प्रयोग निकै घातक हुनसक्ने जानकारहरू बताउँछन् ।
रुघाखोकी लागेका बेला एक÷दुई दिन बेसारपानीमा राखेर पिउँदा समस्या हुँदैन । तर धेरै बेसारपानी अनियन्त्रित रूपमा खाँदा भने यसले राम्रो गर्छ भन्न सकिँदैन । अझ बजारमा पाइने मिसावटयुक्त बेसारले त क्यान्सरसहित अन्य विभिन्न जटिल रोगको खतरा रहने गरेको छ । मानव शरीरमा बेसारको महत्त्वबारे धेरै अनुसन्धान गरिएको छ र यसले शरीरको प्रतिरक्षा प्रणाली सुदृढ गर्छ भन्ने कुरा विभिन्न अध्ययनले पनि देखाएका छन् । तर बेसारको अत्यधिक प्रयोगले भने दीर्घकालीन रूपमा समस्या उत्पन्न गराउन सक्छ ।

तराई र पहाडी जिल्लामा भान्सामा तरकारी र दालमा प्रयोग हुने बेसारको मात्रा ठिक रहेको विज्ञहरू बताउँछन् । अत्यधिक बेसार सेवनले मिर्गौलामा समस्या भएकाहरूलाई खतरामा पार्ने तथा एलर्जीदेखि क्यान्सरसम्मको जोखिम रहने उनीहरूको भनाइ छ। त्यस्तै कलेजोमा पनि यसले समस्या पार्ने बताइन्छ ।
गुणस्तरका कारण किन चिन्ता ?
अत्यधिक बेसार सेवन गर्दा हुने हानिबाहेक बजारमा उपलब्ध बेसारको गुणस्तर पनि चिन्ताको विषय हो । नेपाली बजारमा उपलब्ध बेसारमा लेड क्रोमेट मिसाइएको पाइने गरेको छ । उक्त अखाद्य मिश्रण बेसारमा पहेँलो रङ्ग ल्याउनका लागि प्रयोग गरिन्छ ।

त्यसबाहेक विद्यालयहरूमा प्रयोग हुने खरी (चक) र स्टार्च मिसाइने गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । नेपालमा भारत, म्यान्मार र इथियोपियाजस्ता देशहरूबाट बेसार आयात गरिन्छ ।
राम्रो बेसार कसरी चिन्ने ?
आफैँले खेतबारीमा रोपेको बोटबाट सङ्कलित कन्दबाट निर्मित धूलो बेसार शुद्ध हुन्छ । तर बजारमा उपलब्ध बेसारमा मिसावट भएको हुन सक्छ । धूलो बेसारको परीक्षण प्रयोगशालामै गरिनुपर्ने भए पनि केही हदसम्म घरेलु विधिबाट पनि त्यसको गुणस्तरबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

पानी मिसाइएको गिलासमा बेसार हालेर केही समय छोड्दा चक मिसिएको रहेछ भने तल थेग्रिने र मैदालगायतका वस्तु प्रयोग भएको छ भने डल्लो पर्छ । त्यस्तै पानीमा बेसार घुलनशील नहुने हुँदा पानीमा मिसाउना साथ कडा रङ्ग सर्नु पनि मिसावटको एक किसिमको सङ्केत रहेको जानकारहरू बताउँछन् ।
बेसार किन्दा प्याकेटमा डीएफटीसीक्यू नम्बर देखिएको उत्पादन गुणस्तर विभागबाट प्रमाणित भएको हुन्छ। मिसावटको प्रचुर सम्भावना रहने हुँदा सकेसम्म खुला रूपमा कारोबार गरिने बेसार नकिन्नु उपयुक्त हुन्छ ।
बेसार कति सेवन गर्दा हानि हुँदैन ?
विश्व स्वास्थ्य सङ्गठनका विज्ञसहितको एउटा समितिले मानिसले आफ्नो तौलअनुसार प्रतिदिन चारदेखि आठ ग्रामसम्म बेसार सेवन गर्न उचित हुने निचोड निकालेको छ ।
बेसारमा कक्र्यमिन नामक रासायिक पदार्थको मात्रा एक प्रतिशतभन्दा तल नघटेको हुनुपर्छ । यस्तै बेसारमा कक्र्यमिनको मात्रा तीन प्रतिशतजति हुनुपर्छ । त्यस्तै जलांश (तौलका आधारमा) १२ प्रतिशत नबढेको, कुल भस्म १० प्रतिशत नबढेको, एसिडमा नघुल्ने भस्म १.५ प्रतिशत नबढेको, लेड क्रोमेट नभएको र कुल स्टार्च ६० प्रतिशत नबढेको हुनुपर्छ ।

कुनै पनि औषधि खाइरहेका व्यक्तिले चिकित्सकको सल्लाहबिना थप बेसार खान नहुने विज्ञहरू बताउँछन् । विशेषतः रगत जम्न नदिने औषधि सेवन गर्नेहरूले धेरै बेसार खाँदा रक्तस्राव हुनसक्ने सम्भावना हुन्छ । बेसारले शरीरमा ताप पैदा गर्ने हुँदा विशेषतः गर्मी मौसममा कम खान उचित हुने उनीहरू बताउँछन् ।
बेसारका फाइदा के हुन्
बेसारले शरीरमा जलन कम गर्ने काम गर्छ। बुढेसकालमा हात पाखुरा दुख्ने समस्या हुन नदिन पनि बेसारको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यस्तै एन्टी–अक्सिडन्ट गुणका कारण छिट्टै छाला चाउरी नपर्ने जस्ता फाइदा हुने विज्ञहरू बताउँछन् ।

विभिन्न गुणका कारण बेसारलाई परम्परागत र आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ । यसलाई रङ्गका रूपमा पनि प्रयोग गरिन्छ । पानीमा बेसार नघुल्ने बरु चिल्लोमा घुल्ने हुँदा दूधमा मिसाएर पिउँदा लाभ हुने विज्ञहरू बताउँछन् । कक्र्यमिन कहिलेकाहीँ हाम्रो आन्द्राले सोस्दैन । तसर्थ दूध र बेसारमा थोरै मरिच मिसाएर पिउँदा अझ राम्रो हुन्छ । तर यो पनि अत्यधिक मात्रामा सेवन नगरै मात्रै हो ।




