
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले बजेट शून्यताको अवस्था चाडै अन्त्य गर्ने बताएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै शाहले बजेट शून्यताको अवस्थालाई छिट्टै अन्त्य गरेर राजश्व संकलन र दैनिक खर्चको विषयमा निकाश दिने बताएका हुन् ।

‘आज सरकार गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तिव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ । शाहले राजश्व र दैनिक खर्चको विषय व्यवस्थाप भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माणको प्रक्रियालाई समेत अघि बढाइने बताएका छन् ।

दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका शाहले ६ जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्दै सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

पदभार ग्रहण गरेपछि शाहले वित्तिय अनुशासन, सुशासन प्रवद्र्धन, भ्रष्टाचार न्यूनीकरणका विषयमा अध्ययन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गरेका छन् ।

यस्तै प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क ब्लड बैँक सञ्चालन र व्यवस्थापनका विषयमा आवश्यक अध्ययन गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने, प्राकृतिक विपद्बाट हुने मानवीय क्षति सम्बोधन गर्न विपद् जोखिम न्यूनीकरण बिमा सञ्चालन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेका छन् ।








