स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

विपद्को घडीमा न्यू स्टार इंग्लिश बोर्डिङ स्कुलको मानवीय सहयोग, तीज कार्यक्रम स्थगित

सुखड, कैलाली। भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण रसुवा लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि कैलालीको सुखडस्थित न्यू स्टार इंग्लिश बोर्डिङ स्कुलले विपद् प्रभावितका लागि २३ हजार ३ सय १५ रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले आफ्नो खाजा खर्च र तीजमा दर खानका लागि बचत गरेको रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाएको विद्यालयले जनाएको छ।

विपद्को यस दुःखद घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले यस वर्षको तीज कार्यक्रम तथा दर खाने कार्यक्रमसमेत स्थगित गरेको छ।

विद्यालयका अनुसार तीजको रमझमभन्दा विपद परेका नागरिकको पीडा र दुःखलाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको हो। विद्यालयले यस कठिन परिस्थितिमा हर्षोल्लासका कार्यक्रम नगरी पीडितको सहयोगमा जुट्नु सबैको साझा दायित्व भएको जनाएको छ।

विद्यालयका संस्थापक तथा प्रिन्सिपल श्री पी.आर. भण्डारीले सानो सहयोगले पनि पीडितहरूको जीवनमा आशा र राहत पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

विद्यालयले सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा शुभचिन्तकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विपद्मा परेका सबै नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको कामना गरेको छ।

न्यू स्टार इंग्लिश बोर्डिङ स्कुलको यो कदमले विपद्को घडीमा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगको भावना उजागर गरेको छ।