स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

मोहना नदीतटमा छठ पर्वको तयारी चहलपहल,१३ वर्षदेखि निरन्तर पूजा,श्रद्धालुको भीड बढ्दै

धनगढी।सुदूरपश्चिमको कैलाली जिल्लाको मोहना नदीतटमा छठपूजा सेवा समिति धनगढीले निरन्तर १३ वर्षदेखि आयोजना गर्दै आएको छठ पर्वमा यस वर्ष पनि श्रद्धालु भक्तजनको भीड बढ्दै गएको छ। सुरुका वर्षमा पाँच वटा पालसहितको पूजा घरबाट प्रारम्भ भएको यो पर्व अहिले करिब २६० पूजा कक्षसम्म विस्तार भएको छ।


समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार सुरुमा करिब रु ३५ हजारमा सम्पन्न हुने पूजामा अहिले करिब रु १५ लाख खर्च हुने गरेको छ। स्थानीय तह, उद्योगी, व्यापारी, संघसंस्था र सर्वसाधारणको सहयोगमा रकम संकलन गरी समिति हरेक वर्ष भव्य रूपमा छठ पूजाको आयोजना गर्दै आएको छ।

पुर्वतिरका मिथिला समुदायबीच मात्र सीमित यो पर्व अहिले धनगढीमा सबै समुदायले मनाउने साझा धार्मिक पर्व बनेको अध्यक्ष मण्डलले बताए। “अब त तीन सयभन्दा बढी परिवार र विभिन्न समुदायका व्यक्ति निराहार व्रत बसेर मोहना छठीघाटमा पूजामा सहभागी हुन्छन्,” उनले भने, “दुई हजारभन्दा बढी भक्तजन नदीमा आएर सूर्यनारायणलाई फूल र जल अर्पण गर्छन्।”

समितिका उपाध्यक्ष रोशनकुमार कर्णले छठ पर्व आउनुअघि एक महिना अघिदेखि नै नदीतट सरसफाइ कार्य सुरु गरिने र स्थानीयको सक्रिय सहभागितामा तयारी हुने बताए। उनका अनुसार यस वर्ष २५६ पूजा कक्ष निर्माण गरिएको छ, जसलाई पाल, झिलिमिली बत्ती, रङ्गीन माला र पताकाले आकर्षक बनाइएको छ।

धनगढी बजारका विभिन्न स्थानमा आकर्षक प्रवेशद्वारहरू बनाइएका छन् भने, पूजास्थल वरपर बस्ने, जाग्राम बस्ने तथा दर्शन गर्ने भक्तजनका लागि ठूलो पण्डाल निर्माण गरिएको छ।नेपालको पूर्वी भेगबाट आएका कालीगढहरूले सूर्य देवताको प्रतिमासहित विभिन्न देवी-देवताका मूर्ति निर्माण र रंगरोगनको अन्तिम तयारी गरिरहेका छन्।

छठ पर्वको अवसरमा भजनकीर्तन, नाचगान, सांस्कृतिक झाँकी, तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति रहने कार्यक्रम पनि तय गरिएको समितिले जनाएको छ।

छठ पर्व पारिवारिक सुख, शान्ति, समृद्धि, दीर्घायु र रोग-व्याधिबाट मुक्ति कामना गर्दै सूर्य उपासना गरिने पर्व हो। यस अवसरमा मोहना नदी, पोखरी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।