स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

सुदूरपश्चिमको गौरव हुडकेली नृत्य लोप हुने सङ्केत, संरक्षण पहलै नभएको गुनासो

कञ्चनपुर । सुदूरपश्चिमको ऐतिहासिक र सांस्कृतिक पहिचानको रूपमा रहेको हुडकेली नृत्य अहिले लोप हुने सङ्घारमा पुगेको छ । पुस्तान्तरण नहुँदा र आधुनिक मनोरञ्जनप्रति आकर्षण बढ्दै जाँदा वीर–वीराङ्गनाका गीति कथामा आधारित यो परम्परागत नृत्य ओझेल पर्दै गएको हो ।

कञ्चनपुर शुक्लाफाँटा–११ का ५० वर्षीय गङ्गाराम दमाई हुडकेलीमा निपुण भए पनि माग नहुँदा चिन्तित छन् । उनले बाजेबाट हुडका ९ठूलो डमरुजस्तै बाजा० बजाउने र गीति कथा गाउने कला सिकेका थिए । “पहिला विवाह, व्रतबन्ध, धार्मिक कार्यमा निकै माग हुन्थ्यो, तर अहिले वर्षमा एक पटक पनि हुडकेली नाच्न बोलाउने चलन छैन,” उनी भन्छन् ।

हुडकेलीमा गीत, नृत्य र करतबसहित वीरगाथा प्रस्तुत गरिन्छ । कलाकारले हुडका, दमाहा, घुँघरु, चौँरीगाईको पुच्छर, तलबार र ढालको प्रयोग गरेर युद्धकौशल झल्काउने गर्छन् । यो केवल मनोरञ्जन नभई इतिहास सम्झाउने र सामाजिक एकता कायम गर्ने माध्यम मानिन्छ ।

तर नयाँ पुस्ताले सिक्न चासो नदेखाउँदा, परम्परागत वाद्यवाद्य फेला पार्नै मुस्किल हुँदा र सबै आधुनिक साउण्ड सिस्टम र व्याण्डबाजामा रमाउन थालेपछि हुडकेली लोप हुने खतरा बढेको जानकारहरूको भनाइ छ ।

सांस्कृतिक विज्ञहरूले यसलाई केवल सुदूरपश्चिमकै नभई उत्तराखण्ड ९भारत० सम्म फैलिएको साझा लोककला बताउँदै संरक्षण र पुनर्जीवनका लागि राज्य, स्थानीय तह र समाजसेवी निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन् ।