धनगढी । कैलाली पत्रकार महासंघले सवारी साधनमा प्रेस लेखेर हिड्नेलाई चेकजाँचमा कडाइ गर्न ट्राफिक प्रहरीलाई आग्रह गरेको छ।सवारी साधनमा प्रेस लेखेर दुरुपयोग बढेपछि कैलाली पत्रकार महासंघले ट्राफिक प्रहरीलाई कडाई गर्न आग्रह गरेको हो । जिल्ला ट्राफिक कार्यालय कैलालीले सवारी दुर्घटना न्यूनिककरण कसरी गर्न सकिन्छ भनेर पत्रकारहरुसंग गरेको एक छलफल कार्यक्रममा त्यस्तो आग्रह गरिएको थियो ।

जिल्ला ट्राफिक कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक चक्रबहादुर देउवाले प्रेस लेखेका सवारी साधन चलाउने व्यक्तिको कागजपत्र तथा प्रेस कार्ड अनिवार्य हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले सवारी साधनमा प्रेस नलेख्न अनुरोध गरेका छन् ।

उनले भने ‘सकेसम्म सवारी साधनमा प्रेस नलेख्नुहोस्’ , ‘यदि लेख्नुहुन्छ भने आफू कार्यरत मिडियाको नाम अनिवार्य लेख्ने र प्रेस कार्ड अनिवार्य बोकेकै हुनुपर्ने बताए । प्रहरी निरीक्षक चक्रबहादुर देउवाले नेपाल पत्रकार महासंघ कैलालीको आग्रहलाई कडाईका साथ पालन गर्ने बताए ।




