स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

धरहरा व्यवसायिक रुपमा खुला, प्रतिव्यक्ति दुईसय रुपैयाँ, विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुट

काठमाडौं। काठमाडौंको सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आजदेखि धरहरा व्यवसायिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अबदेखि स्वेदशीलाई प्रतिव्यक्ति दुईसय रुपैयाँ लाग्नेछ ।

उक्त शुल्कमा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूलाई भने ५० प्रतिशत छुट हुने शहरी विकास मन्त्रालयले जनाएको छ । सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार अनुसार सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रकालाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकेको छ । त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रुपैयाँ लाग्नेछ ।