धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दिर्घराज सोडारीले साउन १८ गते (शुक्रवार) विश्वासको मत लिने भएका छन् । सत्तासीन दल नेकपा एमाले गत असार २० गते सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मतको प्रायोजनको लागि उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । प्रदेशसभा सचिवालयले शुक्रवार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरूलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ ।
सभामुख भण्डारीले विश्वासको मतको लागि आह्वान हुने बैठकबारे प्रदेशसभा सदस्यहरूलाई सूचना पनि जारी गरिसकेको जानकारी दिए ।

मुख्यमन्त्री सोडारीले साउन १८ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले संसदमा आफ्नो कुरा राखेर सरकार छोड्ने तयारी तयारी गरे पनि अन्तमा विश्वासको मत लिने निष्कर्षमा पुगेका हुन ।
सोडारीले एक महिना अल्पमतकै अवस्थामा सरकार लम्ब्याउँदा प्रदेशको नयाँ बजेट भने आउन सकेको छैन । जसका कारण साउन १ गते देखि प्रदेशमा आर्थिक गतिविधि ठप्प रहेका छन् ।

सोडारी वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशी समेतको समर्थन जुटाएर उनी मुख्यमन्त्री बनेका थिए । उनी संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोडारी यसअघि सुदूरपश्चिम सरकारमा दुई पटक मन्त्री बनिसकेका छन् ।





