धनगढी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०८२–८३ मा लक्ष्यभन्दा १३ प्रतिशत कम राजस्व संकलन गरेको छ । गड्डाचौकी भन्सार कार्यालयले गत आर्थिक वर्षमा भन्सार विभागले दिएको लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन गरेको हो

भन्सार विभागले गत आर्थिक वर्ष २०८२–८३ मा गड्डाचौकी भन्सार कार्यालयलाई ६९ करोड दुई लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि ६० करोड ९ लाख ६२ हजार रुपियाँ मात्र असुली भएको कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले बताउनुभयो
भन्सार कार्यालयले गत आवमा आकस्मिक रूपमा प्राप्त हुने लाभ करबापत १३ लाख ६९ हजार, अन्तःशुल्क आयात बापत एक करोड ५८ लाख ७ हजार, सडक निर्माण तथा मर्मतका लागि उठाइने दस्तुरबापत २९ लाख ३७ हजार रुपियाँ असुल गरिएको जनाएको छ ।

त्यसैगरी, भन्सार महसुल आयात ३२ करोड ७९ हजार रुपियाँ, वातावरण संरक्षणका लागि सवारी साधन वन्यवस्तुको हरित कर बापत २ लाख एक हजार रुपियाँ, स्वच्छ पूर्वाधार लगानी शुल्क ६९ हजार रुपियाँ तथा कृषि सुधार शुल्क बापत एक करोड ४४ लाख ३६ हजार रुपियाँ असुली भएको सूचना अधिकारी भट्टले जानकारी दिनुभयो ।

यसका साथै, भन्सारसम्बन्धी अन्य आय बापत २५ लाख ९३ हजार, आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्धन शुल्क बापत चार लाख ९३ हजार, यातायात क्षेत्रको आम्दानी बापत २० लाख २४ हजार, अन्य प्रशासनिक सेवा शुल्क बापत पाँच लाख ३४ हजार तथा मूल्य अभिवृद्धि कर बापत २३ करोड ३२ लाख ४६ हजार रुपियाँ असुल भएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयले अघिल्लो आव २०८१–८२ मा ५९ करोड ७७ लाख रुपियाँ राजस्व संकलन गरेको थियो





