धनगढी रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका २८ जना सम्पर्कमा आएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि सम्पर्कविहीन रहेकामध्ये २८ जना पछिल्लो समय परिवार तथा आफन्तको सम्पर्कमा आएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार सम्पर्कमा आउनेमा कैलालीका १८, कञ्चनपुरका ९ र डडेल्धुराका १ जना रहेका छन् ।

यद्यपि, बाढीपछि सुदूरपश्चिमका अझै १४२ जना सम्पर्कविहीन रहेको एसएसपी बिष्टले जानकारी दिए । सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

खोजी कार्यलाई थप प्रभावकारी बनाउँदै सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ ।





