धनगढी । अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धनगढीस्थित कृष्ण मन्दिर परिसरको धर्मशाला खाली गर्न धर्मशाला व्यवस्थापन समितिले आग्रह गरेको छ।

समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई लिखित पत्र हस्तान्तरण गर्दै धर्मशालाको प्रयोग अन्त्य गर्न अनुरोध गरिएको जानकारी दिए। उनका अनुसार डा. केसी बसोबासका लागि भन्दै धर्मशालामा आएका भए पनि पछि पूर्व जानकारीबिनै त्यहीँ सत्याग्रह सुरु गरिएको थियो।

अध्यक्ष पन्तले धार्मिक स्थलमा अनसन सञ्चालन गरिएको विषयलाई लिएर विभिन्न पक्षबाट प्रश्न र दबाब आएको दाबी गरे। यद्यपि दबाब कसबाट आएको हो भन्नेबारे उनले स्पष्ट जानकारी दिएनन्।

यसअघि बिहीबार बिहान अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पनि धर्मशालामा अनसन गर्न नदिन व्यवस्थापन समितिसँग आग्रह गरेका थिए।
व्यवस्थापन समितिको पत्र प्राप्त भएपछि डा. केसीको टोलीले अबको बसाइ र सत्याग्रह सञ्चालन गर्ने स्थानबारे आन्तरिक छलफल गरिरहेको उनका सहयोगी डा. अमृत जैशीले बताए। उनका अनुसार धर्मशालामा बस्ने विषयमा व्यवस्थापन पक्षलाई पूर्व जानकारी गराइएको भए पनि अहिले कुन आधारमा स्थान छाड्न भनिएको हो भन्ने स्पष्ट नभएको उनले बताए।
डा. केसी पाँच बुँदे माग अघि सार्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा बसेका छन्





