काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा रहेर घरौटीमा छाडिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण साढे २ वर्षपछि अदालतबाट दोषी ठहरिएका छन् । उनी २०८० मंसिर २९ गते ७ महिना जेल बसेर धरौटीमा रिहा भएका थिए ।

उच्च अदालत पाटनले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएसँगै थुना बाहिर बसेर मुद्दा लडिरहेका थिए । नेपाली कांग्रेसको प्रभावशाली नेताका रुपमा चिनिएका उनी पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र थिए तर पछिल्लो पटक विशेष महाधिवेशनपछि गगन थापालाई साथ दिएका थिए ।

पूर्व गृहमन्त्री खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धरौटीमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा राखेपछि उनी कारागार मुक्त भएका थिए ।
शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी गरी चार कसुरमा जिल्ला अदालत काठमाडौँमा खाणसहितका आरोपितविरुद्ध २०८० जेठ १० गते मुद्दा दायर भएको थियो । प्रतिवादीविरुद्ध चार कसुरबाहेक विभाग र अख्तियारबाट समेत थप अनुसन्धान गर्नुपर्ने निर्णय सरकारी वकिलको कार्यालयले गरेको थियो ।
मंगलबार जिल्ला अदालत काठमाडौँले फैसला सुनाउँदै पूर्वगृहमन्त्री खाणलाई संगठित अपराधको ‘मतियार’का रूपमा दोषी ठहर गरेको हो ।




