जोशीपुर । कैलालीको जोशीपुरमा प्रथम जोशीपुर कृषि तथा व्यापारी सांस्कृतिक सन्ध्याकालीन मेला सुरु भएको छ।

जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमको सभाध्यक्षतामा उद्घाटन समारोहका प्रमुख अतिथि जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले दीप प्रज्वलन गरी मेलाको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले कृषि, व्यापार र सांस्कृतिक क्षेत्रको विकासका लागि यस्ता मेलाहरू महत्वपूर्ण माध्यम बन्ने बताउनुभयो। उहाँले स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारसँग जोड्न, उद्यमशीलताको विकास गर्न तथा कला र संस्कृतिको संरक्षण गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष चौधरीले गाउँपालिकाले कृषि उत्पादन वृद्धि, स्थानीय व्यापार प्रवर्द्धन तथा सांस्कृतिक पहिचानको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, व्यापारी, कृषक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मेलामा कृषि तथा व्यापारिक प्रदर्शनीका स्टलहरू राखिनुका साथै स्थानीय कला, संस्कृति र मनोरञ्जनात्मक कार्यक्रमहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार मेला अवधिभर स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री, सांस्कृतिक प्रस्तुति, विभिन्न प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुनेछन्। यस मेलाले स्थानीय कृषक, व्यापारी र कलाकारहरूलाई आफ्नो उत्पादन तथा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।





