स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कर्णालीमा खसेको फोर्स गाडी अझै बेपत्ता

सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतारामा बिहीबार भएको फोर्स गाडी दुर्घटनामा भीरबाट खसेर मृत्यु भएका एकजनाको पहिचान खुलेको छ । कर्णाली नदीमा खसेको गाडी अझै फेला पर्न सकेको छैन ।

दैलेख प्रहरीका अनुसार मृतक कालीकोट पचालझरना गाउँपालिका–९ निवासी जोखे तिरुवा हुन् । उनका बुबाले शवको सनाखत गरेपछि मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सांगेतारा क्षेत्रमा दुर्घटना भएको थियो ।  दुर्घटनापछि गाडी नदीमा बेपत्ता भएकाले त्यसको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको छ ।

महेश्वरी बाहिनीका प्रहरी उपरीक्षक करणसिंह धामीका अनुसार कर्णाली नदीको पानी अत्यधिक धमिलो रहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ । प्रतिकूल अवस्थाका बाबजुद गोताखोर टोलीले निरन्तर खोजी जारी राखेको उनले बताए ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त गाडीमा कतिजना सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन । दुर्घटनाको कारणसमेत खुल्न बाँकी छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीमा बेपत्ता गाडी तथा सम्भावित यात्रुको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।