धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरकारसहित सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्।
धनगढीमा शनिबार आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले नागरिकको जीउधनको सुरक्षा तथा कानुनी शासनको सुदृढीकरणमा सरकार, सुरक्षा निकाय, न्यायपालिका र सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।
राज्यका सबै निकाय एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै उनले समन्वयात्मक कार्यशैलीबाट मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिने बताए। जनताको सुरक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै उनले सरकार र नेपाल प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।
मुख्यमन्त्री शाहले अपराध अनुसन्धानमा देखिएका कमजोरी सुधार गर्दै प्रदेशभर अनुसन्धान र कार्यसम्पादनमा एकरूपता कायम गर्नुपर्ने आवश्यकता औंल्याए। नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई थप प्रभावकारी, व्यावसायिक र नतिजामुखी बनाउन स्पष्ट रणनीति तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।





