बाजुरा, असार १३ गते । पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तड छेडेदह ताल पछिल्लो समय पहिरोका कारण सङ्कटमा परेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ र ७ को सीमामा अवस्थित यो तालको एकातर्फ ठुलो पहिरो जान थालेपछि तालको अस्तित्वमै जोखिम उत्पन्न भएको हो।

ताल संरक्षणका लागि स्थानीय सरकार प्रयासरत रहे पनि आवश्यक बजेट अभावका कारण प्रभावकारी काम गर्न कठिनाइ भइरहेको छ। ताल संरक्षणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले गाउँपालिकालाई स्रोत जुटाउन चुनौती थपिएको छ।
पछिल्ला वर्षहरूमा स्थानीय सरकारले ताल वरिपरि सडक, बाटो तथा टहरा लगायतका संरचना निर्माण गर्दै यसको संरक्षण र व्यवस्थापनमा पहल गर्दै आएको छ। तर पहिरोको निरन्तर सक्रियताले संरक्षण कार्यमा समस्या उत्पन्न भएको छ।
खप्तड छेडेदह ताल केवल गाउँपालिकाका लागि मात्र नभई देशभरका आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। यदि यसको संरक्षण र प्रवर्द्धन प्रभावकारी रूपमा गर्न सकिएमा जिल्लाको आर्थिक विकासमा समेत ठुलो योगदान पुग्ने सम्भावना रहेको स्थानीयहरू बताउँछन्।
खाती गाउँको माथिल्लो भागबाट सुरु भएको पहिरो गत वर्षदेखि तालको एक किनारासम्म आइपुगेको छ। चारैतिर अग्ला भूभाग र बिचमा समथल जमिन रहेको तालमा पहिरोले असर पुर्याएपछि यसको अस्तित्व नै सङ्कटमा परेको स्थानीयवासीको भनाइ छ।
स्थानीय बिमल रावतका अनुसार विगत केही वर्षदेखि खाती गाउँ माथिबाट सुरु भएको पहिरो निरन्तर विस्तार हुँदै ताल नजिक पुगेको छ। उहाँले भन्नुभयो, “वर्षायाममा पहिरोले ठुलो रूप लिन्छ। कुनै दिन ताल नै पुरिने जोखिम छ। ताल नष्ट भए यसको अस्तित्व नै समाप्त हुन्छ।”
जिल्लाको महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको ताल संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयहरूको गुनासो छ।
बाजुरा र बझाङ जिल्लाको सीमा नजिक करिब पाँचदेखि सात किलोमिटर दूरीमा रहेको यो ताल सडकमार्गको बिचमै पर्ने भएकाले यात्रुहरू पनि रोकिएर अवलोकन गर्ने गरेका छन्।
पछिल्लो समय सामाजिक सञ्जाल र विद्यालयस्तरीय भ्रमणका कारण पनि तालमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले ताल संरक्षणका लागि स्थानीय सरकार प्रयासरत रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “यो ताल पालिकाको मात्र नभई जिल्लाकै सम्पदा हो। यसको संरक्षणका लागि सबै तहका सरकारसँग सहकार्य गरिरहेका छौँ।”
उहाँका अनुसार पहिरो नियन्त्रणका लागि वृक्षरोपण लगायतका योजना अघि सारिएको भए पनि त्यसले मात्र समाधान नदिने भएकाले ठुलो बजेट आवश्यक रहेको छ। गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गर्दै आएको भए पनि हालसम्म पर्याप्त बजेट प्राप्त नभएको अध्यक्ष रावतले बताउनुभयो




