नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको ज्यान मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने मिति सारेको छ।
यो मुद्दामा साउन २३ मा फैसला आउने भएको हो। यसका लागि सर्वोच्चले साउन २३ गते पेशी तोकेको छ।
यसअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले असार १२ गते फैसला सुनाउने निर्णय गरेको थियो। तर त्यो दिन न्यायाधीश राउत अनुपस्थित रहेपछि इजलास बस्न सकेको थिएन। यो मुद्दालाई साप्ताहिक पेशीबाट हटाइएको थियो।
त्यसयता यो मुद्दाको पेशी चढ्न सकेको थिएन। अहिले आएर सर्वोच्चले एक महीनापछि पेशी तोकेको हो।
सशस्त्र द्वन्द्वको वेला काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोपमा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटा सहित माओवादी नेता-कार्यकर्ता विरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर प्रहरीले जाहेरी नै नलिएपछि सर्वोच्चमा मुद्दा परेको थियो। त्यसपछि सर्वोच्च अदालतले २०६४ सालमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेमा जाहेरी दर्ता भएको थियो। सापकोटा विरुद्ध पक्राउ पुर्जी पनि जारी भएको थियो। तर २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले पक्राउ पुर्जी नै तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यति वेला सापकोटा सञ्चारमन्त्री थिए।
पूर्णिमायाले सरकारको निर्णय बदर गरेर सापकोटालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै २०६९ सालमा रिट दायर गरेकी थिइन्। २०७२ चैतमा न्यायाधीशद्वय सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले संवैधानिक इजलासमा सुनुवाइका लागि पठाएको थियो।
त्यसपछि संवैधानिक इजलासमा २० पटक पेशी तोकिए पनि धेरैजसो इजलासले हेर्न भ्याएन। गत वैशाख १२ गते भने यो मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेर सुनुवाइ थालिएको थियो।
गत जेठ २३ गतेको संवैधानिक इजलासले निर्णय सुनाउने तय गरेको थियो। सापकोटा पूर्व सभामुख हुन्।




