कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि सुरक्षा थ्रेट भएको बताएका छन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले रावलले आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै प्रशासनलाई लिखित जानकारी गराएको बताएका छन्। सुरक्षा थ्रेट रहेको भन्दै रावलले असार १ गते पत्र दिएको र पत्रमा व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत माग गरेका छन्।
‘सुदूरपश्चिम प्रदेशको पूर्वमुख्यमन्त्रीको हैसियतले पाउँदै गरेको पीएसओ फिर्ता भएपछि फेरि उहाँले पीएसओ माग्नु भएको छ,’ प्रमुख जिल्ला अधिकारी कोइरालाले भने, ‘उहाँले जेएनजी आन्दोलनमा घर जलाइएको, पटक-पटक पार्टी कार्यालयमा तोडफोड भएको भन्दै असुरक्षित रहेको बताउनु भएको छ।’
२०७९ पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत पाउन नसक्ने भएपछि माघ २६ गते राजीनामा दिएका थिए।
एमाले संसदीय दलका नेता समेत रहेका उनको जेएनजी आन्दोलनका क्रममा घर जलाइएको थियो। त्यसविरुद्ध उनले कानुनी लडाइँ लडिरहेका छन्।
‘मेरो घर जलाउनेहरूविरुद्ध मुद्दा दायर गरेको छु,’ उनले भने, ‘मैले न्याय पाउँछु भन्नेमा पूर्ण विश्वस्त छु।’
घर जलाउनेविरुद्ध किटानी जाहेरी दिएको, पटक-पटक आफ्नो कार्यालयमा आक्रमण तथा तोडफोड भएको भन्दै सुरक्षा माग गरिएको उनले बताए।
‘ममाथि सुरक्षा थ्रेट छ, त्यसैले सुरक्षाका लागि आग्रह हो,’ उनले भने, ‘एउटा आम नागरिकले पनि आफू असुरक्षित महसुस गर्दा राज्यलाई गुहार लगाउन पाउँछ भने म पूर्वमुख्यमन्त्री पनि हुँ।
दोस्रो कार्यकालमै आफू मुख्यमन्त्री रहेको र अहिले पनि संसदीय दलको नेता रहेको भन्दै उनले सुरक्षा अवस्थाबारे जानकारी गराउनुपर्ने अवस्था रहेको बताए।
पूर्वमुख्यमन्त्रीले असार १ गते पत्र दिएपछि अहिले जिल्लाको सुरक्षा संयन्त्रले उनको सुरक्षा थ्रेटको अवस्थाबारे अध्ययन गरिरहेको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जाँचबुझ समितिले पाँच दिनभित्र यसको यकिन अवस्थाबारे जानकारी गराउने बताए।
त्यसपछि सुरक्षाको गम्भीरतालाई अध्ययन गरेर पूर्वमुख्यमन्त्रीलाई कस्तो सुरक्षा व्यवस्था मिलाउने भन्नेबारे यकिन हुने उनले बताए।
‘सुरक्षा विश्लेषण समितिले उहाँको सुरक्षासम्बन्धी अवस्थाको अध्ययन तथा मूल्यांकन गरिरहेको छ। अध्ययन र विश्लेषणको निष्कर्षका आधारमा मात्र आवश्यक निर्णय लिइनेछ,’ उनले भने।




