काठमाडौं। फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान बनाउने टोलीहरुको क्रमशः टुंगो लाग्दै गएको छ।
प्रतियोगिताको इतिहासमै पहिलो पटक ४८ टोली सहभागी भएपछि अन्तिम ३२ चरण पनि पहिलो पटक समावेश गरिएको हो।
अन्तिम ३२ चरणका खेलहरू जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछन्। १२ समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट आठ तेस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।
त्यसपछि अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल, तेस्रो स्थानको प्लेअफ र जुलाई १९ मा फाइनल खेल हुनेछ।
यी हुुन् हालसम्म अन्तिम ३२ मा स्थान सुरक्षित गर्ने टोलीहरूः
मेक्सिको (समूह ए)
सह–आयोजक मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो। दक्षिण कोरियामाथि १–० को जित निकाल्दै मेक्सिकोले समूहको शीर्ष स्थान सुरक्षित गरेको थियो। यसअघि उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराएको थियो।
संयुक्त राज्य अमेरिका (समूह डी)
अस्ट्रेलियामाथि २–० को जित निकाल्दै अमेरिका अन्तिम ३२ मा पुग्ने दोस्रो टोली बन्यो। अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई ४–१ ले पराजित गरेको थियो।
जर्मनी (समूह ई)
आइभरी कोस्टलाई २–१ ले हराएपछि जर्मनीले नकआउट यात्रा तय गर्यो। प्रतियोगिताको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ ले पराजित गरेको थियो।
अर्जेन्टिना (समूह जे)
अस्ट्रियामाथि २–० को जित निकाल्दै साविक विजेता अर्जेन्टिना अन्तिम ३२ मा पुग्यो। कप्तान लियोनल मेसीले दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक १८ गोल गर्ने खेलाडी बने। अर्जेन्टिनाले समूहको शीर्ष स्थान पनि सुरक्षित गर्यो।
फ्रान्स (समूह आई)
विश्वकपको प्रमुख उपाधि दाबेदार फ्रान्सले इराकलाई ३–० ले हराउँदै अन्तिम ३२ मा स्थान बनायो। किलियन एम्बाप्पेले उक्त खेलमा दुई गोल गरे। उनले सेनेगलविरुद्धको पहिलो खेलमा पनि दुई गोल गरेका थिए।
नर्वे (समूह आई)
सेनेगललाई ३–२ ले हराउँदै नर्वेले नकआउट चरणमा स्थान सुरक्षित गर्यो। २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले पहिलो खेलमा इराकलाई ४–१ ले हराएको थियो।
कोलम्बिया (समूह के)
डिआर कङ्गोलाई १–० ले हराउँदै कोलम्बिया अन्तिम ३२ मा पुग्यो। टोलीले पहिलो खेलमा उज्बेकिस्तानलाई ३–१ ले पराजित गरेको थियो।
स्विट्जरल्यान्ड (समूह बी)
अपराजित रहँदै सात अंकसहित स्विट्जरल्यान्ड समूह विजेता बन्यो। अन्तिम खेलमा उसले सह–आयोजक क्यानडालाई २–१ ले पराजित गरेको थियो।
क्यानडा (समूह बी)
स्विट्जरल्यान्डसँग पराजित भए पनि चार अंकसहित क्यानडाले उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनायो। क्यानडाले कतारलाई ६–० ले हराएको थियो।
बोस्निया एन्ड हर्जगोभिना (समूह बी)
कतारलाई ३–१ ले हराउँदै बोस्निया एन्ड हर्जगोभिनाले उत्कृष्ट तेस्रो स्थान प्राप्त टोलीमध्ये एकका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गर्यो।
ब्राजिल (समूह सी)
स्कटल्यान्डलाई ३–० ले हराउँदै पाँच पटकको विश्वविजेता ब्राजिल सात अंकसहित समूह विजेता बन्यो। भिनिसियस जुनियरले दुई गोल गरे।
मोरक्को (समूह सी)
दुई जित र एक बराबरीसहित सात अंक जोडेको मोरक्को समूहको दोस्रो टोलीका रूपमा अन्तिम ३२ मा पुग्यो।
दक्षिण अफ्रिका (समूह ए)
दक्षिण कोरियामाथि १–० को अप्रत्याशित जित निकाल्दै दक्षिण अफ्रिकाले इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनायो।
इक्वेडर (समूह ई)
जर्मनीलाई २–१ ले हराएपछि इक्वेडर उत्कृष्ट तेस्रो स्थान प्राप्त टोलीमध्ये एकका रूपमा अन्तिम ३२ मा पुग्यो।
आइभरी कोस्ट (समूह ई)
कुरासाओलाई २–० ले हराउँदै आइभरी कोस्टले समूह उपविजेता बन्दै नकआउटमा स्थान बनायो। निकोलस पेपेले दुवै गोल गरेका थिए।
नेदरल्यान्ड्स (समूह एफ)
ट्युनिसियालाई ३–१ ले हराउँदै नेदरल्यान्ड्स सात अंकसहित समूह विजेता बन्यो।
जापान (समूह एफ)
स्विडेनसँग १–१ को बराबरी खेलेपछि जापान पाँच अंकसहित समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्यो।
स्विडेन (समूह एफ)
चार अंक जोडेको स्विडेन उत्कृष्ट तेस्रो स्थान प्राप्त टोलीमध्ये एकका रूपमा अन्तिम ३२ मा पुग्यो।
अस्ट्रेलिया (समूह डी)
पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलियाले समूहको दोस्रो स्थान सुरक्षित गर्यो र नकआउट चरणमा स्थान बनायो।
विश्वकपबाट बाहिरिएका टोलीहरूः
हाइटी (समूह सी)
ब्राजिलसँग ३–० ले पराजित भएपछि हाइटी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो।
टर्की (समूह डी)
पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीको यात्रा समूह चरणमै समाप्त भयो।
ट्युनिसिया (समूह एफ)
जापानसँग ४–० ले पराजित भएपछि ट्युनिसिया बाहिरियो।
जोर्डन (समूह जे)
अल्जेरियासँग २–१ ले पराजित भएपछि पहिलो पटक विश्वकप खेलेको जोर्डन प्रतियोगिताबाट बाहिरियो।
पानामा (समूह एल)
क्रोएसियासँग १–० ले पराजित भएपछि पानामाको विश्वकप यात्रा समाप्त भयो।
कतार (समूह बी)
बोस्निया एन्ड हर्जगोभिनासँग ३–१ ले पराजित भएपछि सन् २०२२ को आयोजक राष्ट्र कतार प्रतियोगिताबाट बाहिरियो।
चेक रिपब्लिक (समूह ए)
मेक्सिकोसँग ३–० ले पराजित भएपछि चेक रिपब्लिक (चेकिया)को अन्तिम ३२ पुग्ने आशा समाप्त भयो। टोली समूहको अन्तिम स्थानमा रह्यो।
कुरासाओ (समूह ई)
आइभरी कोस्टसँग २–० ले पराजित भएपछि कुरासाओको ऐतिहासिक विश्वकप यात्रा समूह चरणमै टुंगियो।
विश्वकपको समूह चरण अन्त्यतिर पुग्दै गर्दा अझै केही समूहका अन्तिम खेल बाँकी छन्। ती खेलपछि अन्तिम ३२ को पूर्ण समीकरण र नकआउट चरणका सबै भेटघाट तय हुनेछन्।





