कैलाली । बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को निति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
मंगलवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा बसेको १८ औं गाउँ सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

उक्त गाउँसभामा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि अनुपस्थित रहेका कारण वडा नम्बर १ का अध्यक्ष तथा प्रवक्ता मिथुन गौतमले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत निति तथा कार्यक्रममाथि सभाका सदस्यहरूले छलफल गर्दै आवश्यक सुझावहरू दिएका थिए भने ती सुझावहरूलाई समेटेर नीति तथा कार्यक्रम पारित गरिएको जनाइएको छ।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि विकास, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, पूर्वाधार निर्माण, खानेपानी, सरसफाइ, महिला तथा बालबालिका सशक्तीकरण, युवा स्वरोजगार, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास हासिल गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको उल्लेख गरिएको छ।

त्यसैगरी, गाउँसभाको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने जनप्रतिनिधि, पत्रकार तथा कर्मचारीहरूलाई सम्मान समेत गरेको छ। सम्मानित व्यक्तिहरूले गाउँपालिकाको विकासमा अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
समग्रमा, बर्दगोरिया गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशनले आगामी विकासको मार्गचित्र तय गर्दै नीति तथा कार्यक्रम पारित गरेको छ भने यसको प्रभावकारी कार्यान्वयनतर्फ अब सबैको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।
गाउँसभामा प्रमुख प्रशासकिय अधिकृत धर्म बहादुर थारु, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारी, पत्रकारहरूको उपस्थिति रहेको थियो।




