नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा समानुपातिकतर्फका ९ सांसदको नाम टुंगो लगाएको छ।

आइतबार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहित शीर्ष नेताहरुको छलफलपछि ९ जनाको नाम तय गरिएको हो।
प्रत्यक्षतर्फ ८ सिट जितेको नेकपाले समानुपातिकतर्फ ९ सांसद पाएको थियो। सोहीअनुसार विभिन्न क्लस्टर मिलाएर सांसद चयन गरिएको पार्टीले जनाएको छ। चयन गरिएका नाम आइतबार नै निर्वाचन आयोगमा बुझाइएको छ।

समानुपातिक सूचीमा खसआर्य समूहबाट प्रमेश हमाल परेका छन्। आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा मगर छनोट भएका छन्। अपाङ्गता कोटाबाट प्रेमबहादुर बयकको नाम परेको छ।
त्यसैगरी मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा तथा थारु समूहबाट निराशा चौधरी डगौरा चयन भएका छन्।




