काठमाडौं — नेपाल आयल निगम लिमिटेड ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर १० रुपैयाँ का दरले मूल्य बढाइएको हो।

निगमले बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने जनाएको छ।
नयाँ मूल्यसूची अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल मा पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ कायम भएको छ। यी क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।
त्यस्तै दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेत मा पेट्रोलको मूल्य १७१ रुपैयाँ तथा डिजेल–मट्टीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ।
यसैगरी पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज मा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव तथा अमेरिका–इजरायल–इरानबीचको बढ्दो तनाव का कारण कच्चा तेलको मूल्य बढेपछि स्वदेशी बजारमा पनि मूल्य समायोजन गर्नुपरेको हो।
यस मूल्यवृद्धिसँगै ढुवानी खर्च, उत्पादन लागत तथा बजार मूल्यमा थप दबाब पर्ने आँकलन गरिएको छ।





