धनगढी – सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगुबाट संक्रमित हुनेको संख्या ७ हजार ६८३ रहेको छ ।

स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा सुदूरपश्चिममा तीन हजार ३४९ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । आव २०८१र८२ मा यो संख्यामा सामान्य कमी आए पनि जोखिम भने कायमै रहेको उनले बताए । सो वर्ष तीन हजार ३१६ जनामा संक्रमण देखिएको थियो ।
चालु आर्थिक वर्षको हालसम्म प्रदेशमा एक हजार १८ जना डेंगुबाट प्रभावित भइसकेका छन् । अधिकृत जोशीले भने, ‘अघिल्ला वर्षको तुलनामा डेंगुको ग्राफ केही घटेको देखिए पनि सङ्क्रमणको जोखिम भने टरेको छैन । विशेषगरी तराईका जिल्लामा यसको प्रभाव बढी छ ।’
निर्देशनालयका अनुसार प्रदेशका कैलाली र कञ्चनपुर डेंगुबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन् । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण पहाडी जिल्लामासमेत डेङ्गुका बिरामी फेला पर्न थालेका अधिकृत जोशीले बताए । उनका अनुसार डेंगु नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएका छन् ।




