अत्तरिया – कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा २०६४ साल यता लगातार न एकै व्यक्तिले दोहरिएर चुनाव जितेका छन्, न पार्टीले नै । २०६४ साल यता भएका चार निर्वाचनमा बिराएर २ पटक कांग्रेसका फरक फरक उम्मेदवारले चुनाव जितेका छन् भने । २ पटक लेखराज भट्टले पनि बिराएर फरक फरक पार्टीबाट चुनाव जितेका छन् ।
२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा नेकपा माओवादीबाट लेखराज भट्टले चुनाव जितेका थिए । त्यसपछि २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा भने नेपाली कांग्रेसका दीर्घ भाटले चुनाव जितेका थिए ।
दोस्रो संविधान सभाबाट २०७२ सालमा संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपाबाट चुनाव लडेका लेखराज भट्टले चुनाव जितेका थिए । त्यसपछि २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा भने कांग्रेसका वीर बहादुर बलायरले चुनाव जितेका थिए ।
पछिल्ला चार निर्वाचनमा लेखराज भट्ट भने निरन्तर चुनाव लड्दै आएका छन् । उनले पार्टी फेरेर चार पटक चुनाव लड्दा २ पटक जित हात पारेका छन् । यस पटक पाँचौँ पटक भट्ट नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका छन् भने कांग्रेसले भने यस पटक पनि नयाँ उम्मेदवार गोरख भट्टलाई चुनावी मैदानमा उतारेको छ ।
कैलाली क्षेत्र नम्बर ४ मा विगत २० वर्षदेखि लेखराज भट्ट भर्सेज कांग्रेस बिच मुख्य प्रतिस्पर्धा हुने गरेको छ । २० वर्षमा २ पटक (माओवादी र नेकपा) बाट चुनाव जिते पनि एमालेबाट भने भट्टले चुनाव जित्न सकेका छैनन् । नेकपा विभाजन पछि २०७९ सालको निर्वाचनमा उनी पहिलो पटक एमालेबाट चुनाव लडेका थिए । सो निर्वाचनमा कांग्रेस, माओवादीको र समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए ।
पुरानो समीकरण उलटपुलट
जेनजी आन्दोलनको म्यान्डेट अनुसार फागुन २१ गते हुन लागेको निर्वाचनमा भने पुरानो चुनावी समीकरणमा उलटपुलट भएको छ । २०७९ को निर्वाचनको म्यान्डेट अनुसार पुरा कार्यकाल नहुँदै हुन लागेको निर्वाचनमा अहिले सबै पाटी एक्ला एक्लै चुनाव लडिरहेका छन् । पछिल्ला २ निर्वाचनमा मुख्य दलहरू गठबन्धन गरेर चुनावमा लड्दा मुख्य २ प्रतिस्पर्धी बिच मात्रै प्रतिस्पर्धा हुने गरेकोमा यस पटक भने प्रतिस्पर्धा हुने दल थपिएका छन् ।
विगतको निर्वाचनको मत परिणाम र जेनजी आन्दोलन पछिको परिस्थिति अनुसार हाल यस क्षेत्रमा मुख्य रूपमा ४ शक्ति अघि देखिएका छन् । जसमा अघिल्लो निर्वाचन जितेको कांग्रेस पुरानै सामथ्र्यका साथ चुनावमा होमिएको छ भने अघिल्लो निर्वाचनमा समानुपातिकमा सबैभन्दा धेरै मत पाएर पनि पराजित भएको एमालेमा भने त्यसपछिका विभाजनले पुरानो सामथ्र्य गुमेको छ । यसबिचमा भीम रावलले पार्टी छोड्दा कृष्ण सुवेदी लगायतको समूह एमालेबाट विभाजित भएको थियो पछिल्लो पटक लेखराज भट्ट कै भाइ गोकर्ण भट्टले पार्टी छोड्दा पनि पार्टीको पुरानो शक्ति गुमेको आकलन गरिएको छ ।
२०६४ पछिका निर्वाचनमा यस क्षेत्रमा कमजोर हुँदै गएर तेस्रो, चौथो शक्ति बन्दै आएको नेकपा माओवादीमा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी मिसिएर नेकपा बन्दा पहिलोको तुलनामा बलियो बनेको राजनीतिक वृत्तमा चर्चा गर्न थालिएको छ । नेकपामा अघिल्लो निर्वाचनको समानुपातिक मत अनुसार तेस्रो शक्ति बनेको नागरिक उन्मुक्ति पार्टी पनि मिसिएको छ ।
अघिल्लो निर्वाचनमा पाँचौँ भए पनि जेन जी आन्दोलन पछिको लहरका कारण हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि प्रमुख शक्तिका रूपमा यस क्षेत्रमा प्रभाव पार्ने आकलन गरिएको छ । रास्वपाले मत बढाउँदा अन्य दलको पुरानो समीकरण पनि असर पर्ने भएकाले यस पटकको निर्वाचनमा मुख्य चार शक्ति एमाले, कांग्रेस, नेकपा र रास्वपा बिच प्रतिस्पर्धा हुने देखिएको छ ।
यद्यपि एक जना स्वतन्त्र सहित १५ जना प्रतिस्पर्धी रहेको यस निर्वाचन क्षेत्रमा अन्य शक्तिले पनि आफ्नो चुनावी प्रचार प्रसार जोडतोडका साथ गरिरहेकाले नतिजा हाल मुख्य प्रतिस्पर्धी भनिएका चार दल बाहिर पनि जान सक्ने सम्भावना उत्तिकै छ ।




