आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रवार कैलाली-२ का लागि चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ। समृद्ध नेपाल र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएको पार्टीले पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने दाबी गरेको छ।

प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले प्रतिबद्धता-पत्र सार्वजनिक गर्दै यसलाई जनतासँगको इमानदार सम्झौताको संज्ञा दिएका छन्। प्रदेश गौरवको आयोजन र यस क्षेत्रको आर्थिक मेरुदण्डको रूपमा रहेको सेती लोक मार्गलाई नेकपाले प्रमुख मुद्दा बनाएको छ । “सेती लोक मार्ग: समृद्धिको आधार” भन्ने नारा सहित यस परियोजनालाई यथाशीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ।
यस्तै, लम्किचुहा नगरपालिकालाई हरित नगर र स्मार्ट सिटीको रूपमा विकास गर्ने योजना अघि सारिएको छ भने यातायात सहज बनाउन चिसापानी-कुइने-अछाम सडक र लम्की-राजकाँडा कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिने लक्ष्य राखिएको छ। साथै, कृषि र पर्यटनलाई जोड्न चिसापानीदेखि बलचौरसम्म क्षेत्रीय रिङ रोड निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारिएको छ ।

किसानहरूलाई लक्षित गर्दै पार्टीले “आधुनिक कृषि: समृद्ध किसान” कार्यक्रम घोषणा गरेको छ। सबैभन्दा आकर्षक पक्षको रूपमा सिँचाइका लागि विद्युत् महसुलमा ७५ प्रतिशतसम्म छुट वा निःशुल्क बिजुली उपलब्ध गराउने नीति लिइने जनाइएको छ। उत्पादित वस्तुको भण्डारणका लागि प्रत्येक पालिका स्तरमा शीत गृह निर्माण गर्ने र बजार व्यवस्थापनको ग्यारेन्टी गर्ने प्रतिविद्धतामा गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्ने दाबी गर्दै नेकपाले लम्कीमा राष्ट्रिय ट्रमा सेन्टर स्थापना गर्ने सङ्कल्प गरेको छ। यसका लागि लम्किचुहा-१० मा निर्माणाधीन प्रदेशस्तरीय अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने र थारु समुदायको मुख्य स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनेमियाको निःशुल्क उपचार गर्ने विशेष योजना ल्याइएको छ।

यस्तै घोषणा पत्र अनुसार शिक्षातर्फ लम्की बहुमुखी क्याम्पस लगायतका शिक्षण संस्थामा “डिजिटल कक्ष” र आधुनिक शिक्षा प्रणाली लागू गरिनेछ। शैक्षिक प्रमाणपत्र धितो राखेर युवा स्वरोजगार कर्जा उपलब्ध गराउने घोषणाले शिक्षित बेरोजगार युवाहरूमा आशा जगाउने देखिन्छ।
पार्टीले जनयुद्ध र जनआन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क औषधि र सहायक सामग्रीको व्यवस्था गर्ने बताएको छ। भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको दशकौँ पुरानो समस्या समाधान गर्न लालपुर्जा वितरणलाई प्राथमिकतामा राखिएको छ।
चिसापानी-राजकाँडा केबलकार सञ्चालन र कर्णाली चिसापानीलाई आकर्षक पर्यटकीय केन्द्र बनाउने योजनाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। बर्दगोरिया गाउँपालिकामा थारु सांस्कृतिक सङ्ग्रहालय स्थापना गरी स्थानीय पहिचानको संरक्षण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।




