
काठमाण्डौ।आज विश्व शौचालय दिवस मनाईंदैछ।व्यक्तिगत, सामुदायिक, सरकारी, निजी क्षेत्र तथा गैरसरकारी संस्थाले सरसफाइ कार्यक्रम,विद्यालयमा सरसफाइबारे कक्षा, सार्वजनिक छलफल, नीतिसंवाद, अनुभव आदानप्रदानलगायतका कार्यक्रम हुँदैछन्।

सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने बानी हटाउनुपर्ने साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिएर दिवस मनाउन लागिएको हो।औपचारिकरुपमा सन् २०१३ देखि मनाउन थालिएको शौचालय दिवसको मुख्य उद्देश्य सबैका लागि पहुँचयोग्य सुरक्षित शौचालयमा जोड रहेको छ ।

साथै पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तर्राष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि गर्नु पनि यसको उद्देश्य हो ।

राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ।तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित भएका तथा ३५ करोड ४० लाख मानिस अझै खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका राष्ट्रसङ्घले जनाएको छ।
महिला र बालिकालाई विभिन्न जोखिमबाट जोगाउन शौचालयको सुनिश्चितता अपरिहार्य रहेको छ।विश्वव्यापी रूपमा सरसफाइका मुद्दामा क्रियाशील हुन विश्व संस्थाले आह्वान गर्दै आएको छ।





