धनगढी।कैलालीको घोडाघोडीका किसान युरिया मल नपाएर हैरान छन्।सहकारीमा मल आयो भन्ने खबर सुन्नासाथ लाइन लागे पनि धेरै किसानको पालो नै नपुग्दै फर्किनुपर्ने अवस्था छ।काजल चौधरी चार पटक लाइन बसे पनि मल पाउन सकिनन्। सीता चौधरीले पनि धेरै प्रयासपछि एक बोरा युरिया मात्र पाइन्, तर गहुँ छर्न अझै मल आवश्यक छ।

मल आउनेबित्तिकै सहकारीहरूमा भीड लाग्ने, परिमाण बढाउन नपाइने र कहिले मलै नआएको भन्दै किसान फर्काइने समस्या दोहोरिँदै आएको छ।कतिपय किसान मल नपाएरै गहुँ छर्न बाध्य भएका छन्। घोडाघोडी-३ की ज्ञानु चौधरी र ८ का डम्बर विष्टले मल अभावकै बीच गहुँ छरेका उदाहरण हुन्।
कृषि शाखा प्रमुख जनक धामीका अनुसार समयमै गहुँ नछर्दा उत्पादन घट्ने जोखिम रहन्छ। धेरै किसानले सुरुमै युरिया चाहिन्छ भन्ने भ्रम राखे पनि डिएपीमै १८ प्रतिशत नाइट्रोजन हुने भएकाले सुरुवातमा डिएपी र पोटासले पर्याप्त काम गर्छन्।

सुदूरपश्चिममा हरेक वर्ष युरिया मलको अभाव दोहोरिने गरेको छ।साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री कम्पनी धनगढीले ७० प्रतिशत मल वितरण गरे पनि किसानको आवश्यकता पूरा हुन सकेको छैन। प्रदेशमा आएको मलमध्ये कैलालीले ५४ प्रतिशत र कञ्चनपुरले ३४ प्रतिशत पाउने गरेको साल्ट ट्रेडिङ धनगढीका प्रमुख तेजबहादुर कुँवरले बताए।




