काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिम मैत्रीपूर्ण खेलका लागि भारत पुगेको छ। भारतमा ६ वटा मैत्रीपूर्ण शृङ्खला खेल्ने तालिका अनुसार नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारत प्रस्थान गरेको हो। नेपालले भारतका तीन राज्य टोली — राजस्थान, उत्तराखण्ड र बंगाल — सँग दुई–दुई खेल खेल्नेछ।
आजदेखि सुरु भएको श्रृङ्खला नोभेम्बर १९ तारिखसम्म चल्नेछ। नेपालले आज र नोभेम्बर १७ मा राजस्थानसँग, नोभेम्बर १५ र १९ मा बंगालसँग तथा नोभेम्बर १६ र १८ मा उत्तराखण्डसँग खेल्ने तालिका रहेको छ।
कप्तान इन्दु बर्मासँगै नेपाली टिममा कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी र ममता चौधरी रहेका छन्।

यस मैत्रीपूर्ण शृङ्खलाले नेपाली टिमको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा सहयोग पुग्ने क्यानले जनाएको छ।




