काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित समारोहमा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

यसअघि राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए। संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख अनुसार भण्डारीलाई मंगलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सरकारले कानुनविपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै भण्डारीलाई सोमबार पदमुक्त गर्न सिफारिस गरेको थियो। भण्डारी मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति र शपथ विवादमा परेकी थिइन्। बिरामी भएको भन्दै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी भण्डारीले सोमबार बिहान बर्दिबासको एक होटलमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी थिइन्।




