स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

मस्कले क्यालिफोर्नियाबाट किन सार्दैछन् २ कम्पनीको मुख्यालय?

अर्बपति उद्यमी एलन मस्कले आफ्नो दुई कम्पनी-सामाजिक सञ्जाल एक्स र रकेट निर्माता स्पेसएक्सको मुख्यालय क्यालिफोर्नियाबाट टेक्सासमा सार्ने घोषणा गरेका छन्।

राजनीतिक कारण देखाउँदै मस्कले मंगलबार ती कम्पनीको मुख्यालय सार्ने घोषणा गरेका हुन्।

शनिबार मात्रै आगामी अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका मस्कले डेमोक्रेटिक सरकार भएको क्यालिफोर्नियाबाट आफ्नो दुई व्यवसायको मुख्यालय रिपब्लिकनको सरकार रहेको टेक्सासमा सार्ने भएका हुन्।

क्यालिफोर्नियाका डेमोक्रेट गभर्नर ग्याभिन न्यूसमले सोमबार मात्रै जारी गरेको एक कानूनमा उनले आपत्ति जनाएका छन्। उक्त कानूनमा बच्चाले लिंग पहिचान परिवर्तन गरेमा 'स्कुल डिस्ट्रिक्ट' ले अभिभावकलाई सूचित गर्नैपर्ने नियम हटाएको छ। सो कानूनले अभिभावकको जानकारी बिनै स्कुले बच्चालाई लिंग पहिचान परिवर्तन गर्न सजिलो बनाउने छ।

तर त्यस्ता कानूनले परिवार र कम्पनीहरूलाई आफ्नो बच्चालाई जोगाउन क्यालिफोर्निया छोड्न बाध्य बनाउनेछ भनेर न्युसमलाई पहिल्यै चेतावनी दिएको उनले खुलासा गरेका छन्।

यसअघि क्यालिफोर्नियामा अध्ययनरत कुनै पनि विद्यार्थीले आफूलाई महिला/ पुरूषका रूपमा (सि/ ही) के सम्बोधन गर्ने भनेर छान्न पाउने व्यवस्था थियो। तर विद्यार्थीले छानेको सम्बोधनबारे 'स्कुल डिस्ट्रिक्ट' ले अभिभावकलाई सूचित गराउनै पर्ने नियम थियो। अमेरिकामा राज्यहरूमा 'स्कुल डिस्ट्रिक्ट' हुने गर्छ।  

मस्कले स्पेसएक्सले आफ्नो मुख्यालय हथर्न, क्यालिफोर्नियाबाट आफ्नो स्टारबेसको टेक्सासमा रहेको परिसरमा सार्ने बताएका छन्।

सानफ्रान्सिस्कोमा रहेको एक्सको मुख्यालय भने अस्टिनमा सर्नेछ।

तर मस्कले एक्स र रकेट निर्माता स्पेसएक्सको मुख्यालय क्यालिफोर्नियाबाट सार्ने घोषणा गरेसँगै न्युसमले ट्रम्पको ट्विटको स्क्रिनसट राख्दै जबाफ दिएका छन्।

ट्वीटरमा ट्रम्पले भनेका थिए- म राष्ट्रपति हुँदा मस्क आफ्ना कम्पनीका लागि अनुदान पाउन मेरो ठूलो प्रशंसक भएको र रिपब्लिकन भन्दै आएका थिए। त्यतिबेला उनलाई घुँडा टेकेर माग भनेको भए त्यसै गर्थे।

उक्त ट्विटको स्क्रिनसट ट्विट गर्दै क्याप्सनमा- 'तिमीले घुँडा टेक्यौ' भनेर न्युसमले मस्ककै सञ्जाल एक्समा लेखेका छन्।

क्यालिफोर्नियाको डेमोक्रेटिक सरकारले हौसिएर हस्तक्षेप गर्ने आरोप लगाउँदै आएका मस्कको उक्त राज्यसँगको सम्बन्धमा लामो समयदेखि उतारचढाव हुँदै आएको छ।

कोरोना महामारीका बेलामा लकडाउन गरेको भन्दै उनले आफ्नो बिजुली कार उत्पादक कम्पनी टेस्लाको मुख्यालय सन् २०२० मा क्यालिफोर्नियाको प्यालो अल्टोबाट अस्टिनमा सारेका थिए।

उनले टेस्लाको फ्रिमन्ट क्यालिफोर्नियामा रहेको फ्याक्ट्री लकडाउन लगाएर बन्द गराउनु फाँसीवादी भनेका थिए। क्यालिफोर्नियाको डेमोक्रेटिक सरकारसँग कटु सम्बन्ध भएपनि उनले आर्टिफिसियल इन्टेलिजेन्स र अरू इन्जिनियरिङ सम्बन्धित कामका लागि सिलिकन भ्याली र त्यहाँका प्राविधिक प्रतिभा तान्न जारी राखेकाले क्यालिफोर्नियालाई पूर्ण रूपमा त्याग्न हिचकिचाइरहेका छन् भनेर द न्युयोर्क टाइम्सले लेखेको छ।

टेक्सास राज्यले आय कर र पुँजीगत लाभ कर नलगाउने भएकाले धेरै कमाउने मस्क र उनका वरिष्ठ कर्मचारीहरू जस्ताका लागि क्यालिफोर्निया भन्दा टेक्सास आकर्षक छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)