स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीमा अकालमै ज्यान गुमाउनेको संख्या बढ्दै, आत्महत्याको दर उच्च

धनगढी: कैलालीमा अकालमै ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो क्रममा छ । तीमध्ये सबैभन्दा बढी आत्महत्याका घटना भएको प्रहरी तथ्यांकले देखाएको छ । झुण्डिएर, विष सेवन गरेर, पानीमा हाम फालेर तथा अन्य माध्यमबाट आत्महत्या गर्नेहरूको संख्या पछिल्ला वर्षहरूमा लगातार वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गत आर्थिक वर्षमै ४८१ जनाको अकाल मृत्यु

प्रहरीका अनुसार गत आर्थिक वर्षमा मात्रै २ सय १ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै २८ जनाले विषादी सेवन, र २६ जनाले पानीमा हाम फालेर ज्यान गुमाएका छन् । सोही अवधिमा ३ जनाले उचाइबाट हाम फालेर, र २ जनाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेका थिए । गत आर्थिक वर्षमा जिल्लाभर ९६ जनाको सवारी दुर्घटनामा मृत्यु, १५ जनाको कर्तव्य ज्यान, र ६१ जना मृत अवस्थामा फेला परेको समेत प्रहरी तथ्यांकमा उल्लेख छ । यस्तै १८ जनाको आत्महत्या दुरुत्साहन ९उक्साहन० का कारण मृत्यु भएको छ भने, १५ जनाले नदी तथा खोलामा डुबेर ज्यान गुमाएका छन् । प्राकृतिक कारणले पनि दर्जनौंले ज्यान गुमाएका छन् । जंगली जनावरको आक्रमण, विद्युत् करेन्ट, पहिरो, चट्याङ र आगलागी जस्ता घटनाले समेत धेरै नागरिकको मृत्यु भएको प्रहरीको विवरणमा जनाइएको छ । कुल मिलाएर गत आर्थिक वर्षमा मात्रै कैलालीमा ४ सय ८१ जनाले अकालमै ज्यान गुमाएका छन् ।

तीन महिनामै १ सय ६० जनाको मृत्यु

गत वर्षकै जस्तै चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ९साउनदेखि असोज० आत्महत्याका घटना उल्लेखनीय रूपमा बढेका छन् । प्रहरीका अनुसार सो अवधिमा मात्रै ८९ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसैगरी ९ जनाले विष सेवन गरी, र ९ जनाले नदी तथा खोलामा डुबेर ज्यान गुमाएका छन् । यस अवधिमा ८ जनाको कर्तव्य ज्यान, १४ जनाको सवारी दुर्घटनाबाट, र २१ जना मृत अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । त्यस्तै ४ जनाको सर्पको टोकाइबाट र ३ जनाको विद्युत् करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामै १ सय ६० जनाले अकालमै ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले भने “जिल्लामा आत्महत्या र अकाल मृत्युका घटनाहरू अत्यधिक छन् । हामीले यसका कारण पहिचान गरी सचेतनामूलक कार्यक्रम विस्तार गरिरहेका छौं,” । सिंहका अनुसार “आत्महत्या र सवारी दुर्घटनामा वृद्धि भएसँगै, प्रहरीले स्थानीय निकाय, स्वास्थ्य संस्था र समुदायसँग मिलेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ,”

गम्भीर सामाजिक समस्या बन्दै आत्महत्याको दर

कैलालीमा आत्महत्याको बढ्दो दर र अकाल मृत्युका घटनाहरू अहिले गम्भीर सामाजिक समस्या बनेका छन् । मानसिक तनाव, घरेलु विवाद, बेरोजगारी, सामाजिक दबाब र आर्थिक कठिनाइ जस्ता कारणले आत्महत्याका घटना बढ्दै गएको मनोपरामर्श विशेषज्ञहरूले बताउँदै आएका छन् । सामाजिक समस्या समाधानका लागि स्थानीय तह, स्वास्थ्य संस्था, समुदाय र प्रहरीबीच समन्वय गरेर मानसिक स्वास्थ्य सुदृढीकरण, आत्महत्या रोकथाम र दुर्घटना न्युनिकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको सरोकारवालाहरूको सुझाव छ । कैलालीमा आत्महत्या र अकाल मृत्युका तथ्याङ्कले गम्भीर चेतावनी दिएको छ । मानसिक स्वास्थ्य र जीवनप्रति सकारात्मक दृष्टिकोण अभिवृद्धिका लागि घर–परिवार, विद्यालय, समुदाय र राज्य सबैको साझा प्रयास अपरिहार्य देखिन्छ ।