चाडपर्व नजिकिँदै गर्दा नेपाल प्रहरीले भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा कडाइ गरेको छ।

कञ्चनपुर।चाडपर्व नजिकिँदै गर्दा नेपाल प्रहरीले भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा कडाइ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आजदेखि नाकामा दुईवटा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले ‘शेरा’ नामक कुकुरले विष्फोटक पदार्थ र ‘लैला’ले लागुऔषध पत्ता लगाउने क्षमता राख्ने बताए।
उनका अनुसार चाडपर्वमा यात्रुको भीडसँगै लागूऔषध र अन्य आपराधिक गतिविधि बढ्न सक्ने भएकाले कुकुर परिचालन गरेर नाकामा सुरक्षा कडाइ गरिएको हो।

यससँगै प्रहरीले सीमा नाका मात्र नभई बसपार्क, राजमार्ग र बजार क्षेत्रमा समेत गस्ती बढाएको छ।भारतबाट नेपाल फर्किने यात्रुको सहायताका लागि नाका र बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
प्रहरीले दसैं-तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।




