धनगढी । लोक सेवा आयोगको हीरक जयन्ती वर्ष-२०८२ को अवसरमा शुक्रबार धनगढीमा “विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम” सम्पन्न भएको छ। आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा “योग्यता, निष्पक्षता र स्वच्छता स् लोक सेवा आयोगको प्रतिवद्धता” भन्ने नारालाई केन्द्रबिन्दु बनाइएको थियो।

कार्यक्रममा आयोगको कार्यप्रणाली, विधि–विधान र अवसरका सम्भावनाबारे विद्यार्थीलाई जानकारी दिइयो। अध्यक्ष रेग्मीले सुदूरपश्चिम प्रदेश लोकसेवा प्रतिस्पर्धामा देशभर छैटौं स्थानमा रहेको बताउँदै अझै दर बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले कञ्चनपुर जिल्लाको उत्कृष्ट प्रदर्शनलाई प्रदेशकै सम्भावनाका रूपमा व्याख्या गरे।
धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले लोक सेवा आयोग स्वच्छ संस्थाका रूपमा रहन सबैले साथ दिनुपर्ने धारणा राख्दै उपमहानगर आयोगसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।
त्यसैगरी लोकसेवा विज्ञ डा। देवीदत्त भट्टले निरन्तर अभ्यास र धैर्यले सफलता दिलाउने भन्दै विद्यार्थीलाई प्रोत्साहित गरे। कार्यक्रममा आयोगका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, नौवटै जिल्लाका विद्यार्थी प्रतिनिधि, सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी तथा विभिन्न सरोकारवालाको सहभागिता थियो।
समाप्तीमा अध्यक्ष रेग्मीले सहभागी विद्यार्थीलाई लोक सेवा आयोगका सद्भावना दूत घोषणा गर्दै प्रमाणपत्र समेत वितरण गरे।




