
इलाम । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन भएको बताएकी छन्। परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उनले नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण भएको बताएकी हुन्।

उनले भनिन्, ‘नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन्।’ मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको स्पष्ट पारिन्।

मन्त्री डा. राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गरिन्। इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गरिन्।

मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न पनि आग्रह गरिन्। उनले भनिन्, ‘मेरो आग्रह छ कि यहाँबाट फर्किंदा तपाईंहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस्।’ कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए।





