काठमाडौं । सुदूरपश्चिम रोयल्सका नरेन साउँद नेपाल प्रिमियर लिगमा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्। यू–१९ एसिया कप खेलेर नेपाल फर्किएका १८ वर्षीय नरेनले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेट लिएका हुन्। देब्रे हाते स्लोआर्म अर्थोडक्स बलर नरेन ३ दशमलव ५ ओभरमा १९ रन दिएर ५ विकेट लिन सफल भए। नरेनको घातक बलिङमा सुदूरपश्चिमले काठमाडौंलाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्यो। डेब्यु खेलमै पाँच विकेट लिएका नरेन प्लेयर अफ दि म्याच पनि बन्न सफल भए। यसअघि चितवन गुर्खाजका सोहेल तनवीरले काठमाडौंविरुद्ध एकै खेलमा पाँच विकेट लिएका थिए। तर, उनी विदेशी खेलाडी हुन्। पाकिस्तानका ३९ वर्षीय पेस बलर सोहेलले पाँच विकेट लिने क्रममा चार ओभर पुरै बलिङ गर्दै २१ रन खर्चिएका थिए।





