स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैललीको भजनी क्षेत्रमा चैते धान भित्र्याउन नपाउँदा खेतमै उम्रिए

धनगढी । कैलालीको भजनी नगरपालिकाका कतिपय किसानको चैते धान खेतमै उम्रिएको छ । चैते धान भित्र्याउने बेला गत असार अन्तिमतिर बाढी आएपछि किसानले बाली भित्र्याउन नपाउँदा यस्तो अवस्था आएको हो । पाकेको चैते धान धेरै दिनसम्म पानीमा डुबेको डुब्यै भएपछि कुहिनुका साथै खेतमै उम्रिएको छ ।

बाढी डुबानको सबैभन्दा बढी जोखिम रहेको सो पालिकामा किसानको गुजारा चैते धान खेतीबाटै चल्ने गरेको छ । बाढीका कारण बर्खे धान कम लगाउँदै आएका उनीहरूले चैते धान बढी लगाउने गरेका छन् । कैलालीमा सबैभन्दा बढी यही पालिकामा चैते धान खेती हुने गरेको छ ।


किसानले भित्र्याउन ढिलो गरेको सबै चैते धानलाई बाढीले नोक्सान गरेको भजनी नगरपालिका–८ का जयप्रसाद ढुङ्गानाले बताए । उनले करिब १५ देखि २० प्रतिशत किसानले यस वर्ष चैते धान भित्र्याउन नपाएको उल्लेख गरे ।


भजनी नगरपालिकाको कार्यालयका अनुसार यस वर्ष भजनीमा आठ सयदेखि नौ सय हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो । जसमध्ये धेरै किसानले चैते धान भित्र्याए पनि असार अन्तिमसम्म नभित्र्याएको किसानको चैते धान खेतमा नोक्सान भएको कृषि शाखाका अधिकृत सुशोभन अधिकारीले जानकारी दिए ।


असार २३ र २४ गते आएको बाढीले चैते धान खेतीमा नोक्सान गरेको हो । त्यसभन्दाअगाडि धेरै जसो किसानले धान भित्र्याइसकेका थिए । बाढीले चैते धान खेतीमा गरेको क्षतिको विवरण वडा कार्यालयले सङ्कलन गरिरहेको छ । क्षतिको विवरण पालिकामा अझै आइपुगेको छैन ।