
कैलाली । बर्दगोरिया गाउँपालिका–६ स्थित पृथ्वीपुर गाउँटोलमा बडा दशैं तथा आयोजना हुन लागेको जिल्ला स्तरीय खुल्ला डान्स कम्पिटिसन २०८३ लाई मध्यनजर गर्दै सरसफाइ कार्यक्रम गरिएको छ।

गाउँटोललाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले स्थानीय भलमन्सा, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा गाउँका सर्वसाधारणको सहभागितामा सरसफाइ गरिएको हो।

सरसफाइ कार्यक्रमबारे पृथ्वीपुर गाउँका भलमन्सा सागर चौधरीले नेपालीहरूको महान् चाड बडा दशैं तथा जिल्ला स्तरीय खुल्ला डान्स कम्पिटिसनलाई मध्यनजर गर्दै गाउँटोलको सरसफाइ गरिएको बताए। उनले चाडपर्व तथा ठूलो कार्यक्रमलाई लक्षित गर्दै आफ्नो गाउँ आफैं सफा राख्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सरसफाइ कार्यक्रममा बर्दगोरिया गाउँपालिका–६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु, समाजसेवी, बुद्धिजीवी, स्थानीय अगुवा तथा गाउँका सम्पूर्ण समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीयको सामूहिक सहभागितामा गरिएको सरसफाइले पृथ्वीपुर गाउँटोललाई थप स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन सहयोग पुगेको स्थानीयले बताएका छन्। साथै, आगामी जिल्ला स्तरीय खुल्ला डान्स कम्पिटिसन २०८३ लाई सभ्य, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न स्थानीय समुदायको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।




