स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

थारु संस्कृति संरक्षणमा जोड्दै विकास हुँदै बर्दगोरिया५ ठाकुरद्वारा पिकनिक स्पोर्ट्स

सागर चौधरी /बाैनियाँ। बर्दगोरिया गाउँपालिका–५ मा रहेको ठाकुरद्वारा पिकनिक स्पोर्ट्स आन्तरिक पर्यटन प्रवर्द्धनसँगै थारु समुदायको कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र जगेर्नाको केन्द्रका रूपमा विकास हुँदै गएको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले थारु समुदायको परम्परागत जीवनशैली, संस्कृति र सभ्यता झल्किने विभिन्न कलात्मक मूर्तिहरू निर्माण गर्ने कार्य भइरहेको छ।

यस अभियानले पर्यटन विकाससँगै स्थानीय कला र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।निर्माणाधीन मूर्तिमध्ये हात्तीको आकर्षक मूर्ति निर्माण सम्पन्न भइसकेको छ।

Oplus_131072

उक्त मूर्तिले पिकनिक स्पोर्ट्सको सौन्दर्य थप बढाएको छ भने फोटो खिच्ने र अवलोकन गर्ने आगन्तुकहरूको विशेष आकर्षण बनेको छ। अन्य सांस्कृतिक मूर्तिहरूको निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ।

स्थानीयका अनुसार पिकनिक स्पोर्ट्सलाई केवल मनोरञ्जनको स्थलमा सीमित नराखी थारु समुदायको इतिहास, संस्कृति र पहिचान झल्किने सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्राकृतिक वातावरण, मनोरञ्जनका सुविधा र थारु संस्कृतिको मौलिक झल्को एकै स्थानमा अनुभव गर्न सकिने भएकाले ठाकुरद्वारा पिकनिक स्पोर्ट्स पछिल्लो समय बर्दगोरिया क्षेत्रकै सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।