बौनिया।नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का उम्मेदवार नन्द बहादुर साउद कैलाली क्षेत्र नम्बर २ मा चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मतदाताको घरदैलो अभियानमा सक्रिय देखिएका छन्। बर्दगोरियाका विभिन्न बस्ती र टोलमा पुगेर साउदले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेण्डा र विगतका कामबारे जानकारी गराइरहेका छन्। घरदैलो अभियानका क्रममा स्थानीयसँग छलफल गर्दै उनले विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएका छन।

साउदका अनुसार मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। “मैले विगतमा जनताको सेवामा गरेका काम र अहिले प्रस्तुत गरेका एजेण्डालाई मतदाताले राम्रो मूल्याङ्कन गरिरहनुभएको छ,” उनले भने, “मतदाता निकै उत्साहित हुनुहुन्छ। मलाई बहुमतले विजयी गराउनुहुन्छ भन्नेमा म विश्वस्त छु।” उनले आफूलाई विजयी गराएपछि जनताको विश्वासमा आँच नआउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। “मैले मतदातालाई भनिरहेको छु—तपाईंहरूको शिर निहुरिने छैन। मलाई जिताएकोमा गर्व गर्नुहुन्छ, पछुताउनुपर्ने अवस्था आउन दिने छैन,” साउदले दोहोर्याए।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा तथा कृषि क्षेत्रका समस्या उठाएका छन्। ती समस्या समाधानका लागि ठोस योजना ल्याउने र कार्यान्वयनमा प्राथमिकता दिने साउदको प्रतिबद्धता छ। कैलाली क्षेत्र नम्बर २ मा चुनावी माहोल तातेको छ। विभिन्न दलका उम्मेदवारले आ–आफ्नो एजेण्डा लिएर प्रचार–प्रसारलाई तीव्र बनाइरहेका बेला साउदको घरदैलो अभियानले क्षेत्रको राजनीतिक गतिविधिलाई थप सक्रिय बनाएको छ।





